विद्युत आपूर्ति : प्राधिकरण :५५८० मे.वा.घन्टा / निजी क्षेत्र :४४३३ मे.वा.घन्टा / आयात : १७८१९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / ऊर्जा माग :२७८८२ मे.वा.घन्टा/ उच्च माग :१४३६ मेगावाट
×

पिलुवा खोलामा २५ मेगावाटका ४ आयोजना निर्माणको विभिन्न चरणमा

२०७७ फाल्गुण २४

काठमाडौं । संखुवासभामा बग्ने पिलुवा खोलामा ४ जलविद्युत् आयोजना निर्माणाका विभिन्न चरणमा रहेका छन् । निजी क्षेत्रले पहिचान गरी अघि बढाएका यी आयोजनाबाट करिब २५ मेगावाट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

विद्युत् विकास विभागका अनुसार त्यहाँ पहिचान भएका आयोजनाहरूमा १०.३ मेगावाटको डाउन पिलुवा, ४.७२ मेगावाटको अप्पर पिलुवा खोला–२, ४.९९ मेगावाटको अप्पर पिलुवा हिल्स स्मल र ४.९५ मेगावाटको अप्पर पिलुवा–३ छन् । यस खोलामा अनुमतिपत्र लिएका मध्ये सबैभन्दा ठूलो आयोजना डाउन पिलुवा हो ।

डाउन पिलुवा रिभर फल्स कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सकिएको जनाइएको छ । कम्पनीका अनुसार आयोजनाको बाँध क्षेत्रको निर्माण सकिएको छ । सर्ज ट्यांक र विद्युतगृहको निर्माण भइरहेको छ । बाँकी काम सम्पन्न गरेर अबको २ वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

१ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजनाबाट उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

यसैगरी, मावीलुङ इनर्जी कम्पनीले निर्माण गरिरहेको ४.९५ मेगावाटको अप्पर पिलुवा–३ बाट आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ९३ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत अर्थात् २८ करोड ११ लाख रुपैयाँ स्वपुँजी लगानी छ ।

२०७५ चैत्र १२ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको आयोजनाबाट वार्षिक २८.४१७ गिगावाट घन्टा विद्युत् हुनेछ । ४.७२ मेगावाटको अप्पर पिलुवा खोला–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । मेन्छीयाम हाइड्रोपावर कम्पनीले अघि बढाएको आयोजनाका लागि विभागले २०७२ पुस ३ गते उत्पादन अनुमति दिएको थियो ।

८५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनबी बैंक र नेपाल बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट उत्पादित विद्युत पनि बानेश्वर सबस्टेसनमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ ।

मिल्के जलजले हाइड्रो पावर कम्पनीले अगाडि बढाएको ४.९९ मेगावाटको अप्पर पिलुवा हिल्स स्मल निर्माण गर्न विभागले २०७५ पुस २३ गते उत्पादन अनुमतिपत्र दिएको थियो । पिलुवा खोलामै मेन्छीयाम हाइड्रो पावरले ७.७ मेगावाटको अप्पर पिलुवा–१ को अध्ययन पूरा गरी उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिएको छ ।

हाल यही खोलामा करिब ४ मेगावाटका दुई आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको ३ मेगावाटको पिलुवा खोलाबाट २०६० असोज १ गतेदेखि उत्पादन भइरहेको छ । यस्तै, ०.९९० मेगावाटको लोअर पिलुवाले २०६८ साउन १ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया